Thursday, March 17, 2011

सुन बिक्रीमा कोटा प्रणाली हटाइने

– आयातको अधिकार नदिइने
– व्यवस्था सहज भए सुन किन्न तयार : संघ

यादव हुमागाई
काठमाडौं, २ चैत

वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन बिक्रीमा लागू गरेको कोटा प्रणाली हटाउने भएको छ । व्यवसायीका संघहरूले कोटाअनुसार गरेको सिफारिसका आधारमा मात्र सुन किन्न पाउने प्रावधान हटाउँदै मन्त्रालयले दर्तावाल व्यवसायीले बैंकबाट सीधै सुन किन्नसक्ने व्यवस्था गर्न लागेको छ ।

कोटा प्रणाली हटाउन मन्त्रालयले गत पुसमा ल्याएको ‘सुन आयात तथा बिक्री कार्यविधि’ संशोधन गर्न लागेको छ । नेपाल राष्ट्र बैंकले मन्त्रालयमा संशोधनका लागि मस्यौदासमेत पठाएको छ । व्यवसायीहरूसँग छलफल गरी कार्यविधि संशोधनका लागि प्रस्ताव गरेको हो । उनीहरूको सुझावअनुसार बैंकले पठाएको संशोधन प्रस्तावमा व्यवसायीका विभिन्न संघलाई दिइएको कोटा प्रणाली हटाइएको छ ।

कार्यविधिमा भ्याट वा प्यानमा दर्ता भएका व्यवसायीले सीधै सुन खरिद गर्नसक्ने व्यवस्था गरिएको छ । हालको कार्यविधिमा व्यवसायीले सिफारिसका आधारमा मात्र सुन किन्न पाउने व्यवस्था थियो । त्यसका लागि आयातीतमध्ये नेपाल सुनचाँदी व्यवसायी संघले ५०, नेपाल रत्न तथा आभूषण संघले ३०, नेपाल सुनचाँदी कला व्यवसायी संघ र नेपाल हस्तकला महासंघले १०÷१० प्रतिशत परिणाममा सिफारिस गर्न पाउने अधिकार थियो ।

त्यस्तै, व्यवसायीले एकपटकमा खरिद गर्न पाउने सुनको परिणामलाई पनि बढाइएको छ । यसअघि एक व्यवसायीले ५ सय ग्राममात्र खरिद गर्न पाउने व्यवस्था संशोधन गर्दै प्रतिव्यवसायी एक किलो पु¥याइएको छ ।

क्षेत्रगत रूपमा निर्धारण गरिएको कोटा प्रणालीलाई पनि लचिलो बनाइएको छ । आयात भएको सुनमध्ये ६० प्रतिशत बाग्मती र ४० प्रतिशत अन्य १३ अञ्चलमा बिक्री गर्नुपर्ने व्यवस्थालाई लचिलो बनाई निश्चित समयभित्र सम्बन्धित क्षेत्रमा बिक्री नभएमा अर्को क्षेत्रमा समेत बिक्री गर्न सकिने बनाउन लागिएको छ ।

मन्त्रालयले कार्यविधिलाई छिट्टै अन्तिम रूप दिने जनाएको छ । “कार्यविधि संशोधनका लागि राष्ट्र बैंकबाट सुझाव आएको छ,” मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले भने, “यसमा छलफल गरी छिट्टै संशोधन गर्छाैं ।” कार्यविधिमा व्यवसायीलाई सुुन किन्न सहज हुने बनाइने भए पनि उनीहरूलाई आयात गर्न भने तत्काल दिन नसकिने उनले स्पष्ट पारे ।

व्यवसायीले पनि कोटा प्रणाली हटाउने मन्त्रालयको तयारीलाई सकारात्मक रूपमा लिएका छन् । “हालको व्यवस्थाबाट सुन किन्न अप्ठ्यारो छ,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “यसलाई सरल बनाएमा व्यवसायी सुन किन्न तयार छन् ।” कोटा प्रणाली हटाएपछि आयातको परिमाणात्मक बन्देज पनि हटाउनुपर्ने र व्यवसायीलाई समेत सुन आयात गर्न दिनुपर्ने उनको भनाइ थियो ।

नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष रमेश महर्जनले कोटा हटाए सजिलो भए पनि पर्याप्त सुन आयात भने हुनुपर्ने बताए । “कोटा प्रणाली हटाउने तर आयात पर्याप्त नहुने भयो भने अहिलेको झैं व्यवस्था बिग्रिन्छ,” उनले भने ।

हाल कार्यविधिप्रति असन्तुष्टि जनाउँदै व्यवसायीले बैंकहरूले आयात गरेको सुन किनेका छैनन् । उनीहरूले भारतबाट अवैध रूपमा आयात भएको सुन बिक्री गर्दै आएका छन् । सुन किन्न संघहरूको सिफारिस लिनुपर्ने, एकपटकमा ५ सय ग्राममात्र किन्न पाइने, ५० प्रतिशत बिक्री भएको बिल पेस गरेपछि मात्र फेरि किन्न पाइने व्यवस्था झन्झटिलो भएको व्यवसायीको भनाइ छ ।

राष्ट्र बैंकले पुस १२ गते वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो । हालसम्म पाँच वटा बैंकले ४ सय किलो सुन आयात गरे पनि त्यसको आधा पनि बिक्री हुन सकेको छैन । तर, भारतबाट भने दैनिक १५ किलोको हाराहारीमा सुन अवैध रूपमा आइरहेको व्यवसायी बताउँछन् ।

No comments: