Thursday, March 10, 2011

कृषिजन्य उद्योग खोल्न सहकारीले अनुदान पाउने

यादव हुमागाई
काठमाडौं, २४ फागुन
सहकारी संस्थाले खोल्ने कृषिमा आधारीत साना प्रसोधन उद्योगलाई सहकारी विभागले अनुदान दिने भएको छ । उद्योगको मेसिन खरिद गर्ने लाग्ने रकममध्ये ५० प्रतिशत रकम अनुदान दिने विभागले जनाएको छ ।

“चालु आर्थिक वर्षको वजेटमा स्विकृत कार्यक्रम अनुसार सहकारी उद्योगलाई अनुदान दिन लागेका हौं” विभागका उपसचिव राजनप्रसाद दवाडीले भने ।

सरकारले सहकारी संस्थाको साझेदारीमा कृषिजन्य उत्पादन प्रशोधन उद्योग खोल्नका अनुदान कार्यक्रम ल्याएको हो । आर्थिक वर्ष २०६५÷०६६ देखि सुरु भएको यस कार्यक्रमले प्रत्येक वर्ष निरन्तरता पाउँदै आएको छ । कार्यक्रमका लागि यस वर्ष एक करोड २० लाख रुपैयाँ छुट्इयाएको छ ।

उक्त रकम कृषिजन्य उत्पादन तथा प्रशोधन उद्योगमध्ये अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य भएका र निर्यातको सम्भावना रहेका चिया, अदुवा, मह, कफि, अलैचीलगायत उपजका प्रशोधन उद्योगको मेसिनरी लागतमा ५० प्रतिशत र यसबाहेक अन्य कृषि उपजका उद्योगको मेसिनरी भने २५ प्रतिशत अनुदान दिइने विभागले जनाएको छ । अनुदान एउटा उद्योगका लागि अधिकतम ६ लाख हुने विभागले जनाएको छ ।

अनुदान वितरणका लागि विभागले हाल सहकारी संस्थाको प्रस्ताव संकलन गरिरहेको छ । “हाल विभिन्न डिभिजन सहकारी कार्यालय र कृषि विकास कार्यालबाट प्रस्तावहरु संकलन गरिरहेका छौं” विभागको उपसचिव राजनप्रसाद दवाडीले भने, “सबै प्रस्ताव आइसकेपछि वजेट अनुसार छनोट गरी सहकारीलाई अनुदान दिन्छौं ।” हालसम्म विभागमा करिब ४० वटा प्रस्ताव आएको र केही जिल्लाबाट आउने क्रममा रहेको उनले जानकारी दिए । यसअघि विभागले सार्वजनीक सुचनामार्फत सहकारी संस्थाबाट आवेदन मागेको थियो ।

विभागका अनुसार सहकारीमा कृषकको सहभागिता, स्वदेशी उपकरण, कच्चा पदार्थ उपलब्धता र उद्योगबाट उत्पादीत सामानको बजार सम्भावना लगायतका कुराको आधारमा उद्योगको छनोट गरिनेछ । यस्तै सरकारी प्राथमिताको उद्योग, कार्य योजनाको प्रभावकारीता, संस्थाले गरेको लगानी र पूर्वाधारको अवस्था, उद्योगले सेवा दिने क्षेत्र र रोजगारीको सिर्जनाका आधारमा प्राथमिकता दिने बताएको छ ।

अनुदानका लागि सहकारी संस्थाले दुई वर्ष कारोबार गरिसकेको हुनुपर्ने विभागले सर्त राखेको छ । त्यस्तै विगत वर्षमा अनुदान पाएका संस्थाले यस बर्ष अनुदान नपाउने विभागले जानकारी दिएको छ ।

यसअघि पनि आव २०६६\०६७ मा ३५ वटा सहकारीलाई ९० लाख र आव २०६५\०६६ मा २० वटा सहकारीलाई ७५ लाख रुपैयाँ अनुदान कृषि सम्बन्धी साना उद्योग खोल्नका लागि दिएको थियो । अनुदान पाएका सहकारीले दुग्ध अदुवा, लप्सी, जुनार, चिया, कफी, जडिबुटी, बेसार र मह प्रशोधनसँग सम्बन्धित उद्योगमा लगानी गरेको विभागले जनाएको छ ।

No comments: