Saturday, March 05, 2011

सहकारीको मासिक विवरण अपूर्ण

यादव हुमागाई
काठमाडौं, १८ फागुन

बचत तथा ऋण सहकारी संस्थाले सहकारी कार्यालयहरूमा पेस गरेका मासिक वित्तीय विवरण अपूर्ण पाइएको छ । विवरणमा एकरूपता ल्याउन सहकारी विभागले ढाँचा बनाई सहकारीलाई पठाए पनि सो अनुरूपको विवरण नआएको सहकारी कार्यालयले जनाएका छन् ।

प्राप्त मासिक विवरणहरूमध्ये अधिकांशमा विभागले पठाएको ढाँचाअनुसार नआएको, आवश्यक सबै विवरण नभरेको र कतिपयमा भने गलत विवरण समेत भरेको पाइएको सहकारी कार्यालयहरूले जनाएका छन् ।

विभागले बनाएको ढाँचाअनुसार अधिकांश सहकारीको पूर्ण विवरण नआएको डिभिजन सहकारी कार्यालयका एक अधिकृतले बताए । “विभागले बनाएको फारममा भर्नुपर्ने सबै विवरण नराखी विवरण आएका छैन,” ती अधिकृतले भने, “विभागबाट कुनै निर्देशन नआएकाले जे जस्तो स्थितिमा आए पनि बुझिरहेका छौं ।”

सहकारी कार्यालयका अनुसार फारममा निक्षेप, कर्जा, सेयर पुँजी खुलाइएको भए पनि शीर्षकअनुसार कर्जा लगानी, त्यसको असुलीको अवस्था, कर्जा जोखीमवापतको व्यवस्थालगायतका विवरण उल्लेख भएका छैनन् । त्यस्तै शीर्षकअनुसार भाखा नाघेको कर्जा, ऋण नोक्सानीको व्यवस्था, स्थिर सम्पत्ति, ब्याज आम्दानी र सदस्य संख्याका बारेमा पनि खुलाएका छैनन् ।

मासिक विवरणबारे त्रास रहेकाले सहकारीहरूले विवरण नबुझाएको र बुझाएका विवरणसमेत पूर्ण नआएको ती अधिकारीले दाबी गरे । “राष्ट्र बैंकले ढाँचा तयार पा¥यो त्यसबारे सहकारी संस्थालाई त के सहकारी कार्यालयकै कर्मचारीलाई समेत राम्रोसँग जानकारी गराइएको छैन ।

सहकारी विभागका उपसचिव राजनप्रसाद दवाडी भने सुरुमा भएर सहकारीको विवरण पूर्ण नआएको बताए । विस्तारै यसलाई व्यवस्थित गर्दै सहकारी संस्थालाई कडाइ गर्दै लाने उनले बताए । “मासिक रूपमा पूर्ण विवरण पेस नगर्ने सहकारीलाई विस्तारै कारबाहीको दायरामा ल्याउँछौं,” दवाडीले भने ।

विभागले गत माघदेखि बचत तथा ऋण सहकारी संस्थालाई मासिक विवरण पेस गर्न निर्देशन दिएको हो । सहकारीको अगुगमनमा सहयोग गर्दै आएको नेपाल राष्ट्र बैंकको सहकारीलाई मासिक विवरण बुझाउनका लागि ढाँचासमेत तयार गरेको थियो ।

सहकारी संस्थाले विवरण पेस गर्न थालेको दुई महिना भए पनि अहिलेसम्म ७० प्रतिशत सहकारीले मात्र विवरण बुझाएका छन् । प्राप्त विवरणहरू पनि सहकारी कार्यालयमा भौतिक पूर्वाधार र दक्ष कर्मचारीको अभावमा अलपत्र छ ।

विभागका अधिकारी भने रिपोर्टलाई व्यवस्थित बनाउनका लागि विभागले सफ्टवेयर बनाइरहेको र त्यसपछि विवरण व्यवस्थित गर्न र विश्लेषण गर्न सकिने बताउँछन् ।

No comments: