Saturday, March 05, 2011

तोलाको ४० हजार ६ सय

काठमाडौं, १९ फागुन

अरबी देशहरूको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यले रेकर्ड कायम गरेको छ । यसअघि मंसिर २१ गतेको रेकर्डलाई तोड्दै बिहीबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

बिहीबार स्थानीय बजारमा सुन प्रतिदस ग्राम ३४ हजार ८ सय (प्रतितोला ४० हजार पाँच सय ९०) रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च भएको व्यवसायी बताउँछन् ।

“आज कारोबार भएको मूल्य हालसम्मकै उच्च हो,” नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव माणिकरत्न शाक्यले भने, “अरबी देशहरूको आन्दोलनले सुनचाँदीको मूल्य उकालो लागेको छ ।” लिबियाको आन्दोलनले तेलको मूल्य उच्च भएको र त्यसको असर सुनमा परेको शाक्यले बताए ।



बिहीबार स्थानीय बजारमा सुनको मूल्य तीन सय ३५ रुपैयाँ बढेको छ । मंगलबार प्रतिदस ग्राम ३४ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य कायम भए पनि स्थानीय बजारमा भने सार्वजनिक बिदा परेकाले व्यवसायीले आधिकारिक रूपमा सुनचाँदीको मूल्य निर्धारण गरेनन् ।

अरबी देशहरूको राजनीतिक तनावले विश्व अर्थतन्त्रलाई नै प्रभाव पारेको र यसको असर सुनको मूल्यमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजनीतिक तनावले सुन र कच्चा तेलको मूल्य पनि हालसम्मकै उच्च भएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च प्रतिऔंस एक हजार चार सय ३६ डलर कायम भएको छ ।

व्यवसायीले बिहीबार प्रतिऔंस एक हजार चार सय ३१ डलरलाई आधार मानी स्थानीय मूल्य निर्धारण गरेका थिए । बिहीबार साँझसम्म मूल्य ओरालो लागेर प्रतिऔंस एक हजार चार सय २७ डलरमा झरेको छ । यसले शुक्रबार मूल्य केही ओरालो लाग्ने सम्भावना रहेको व्यवसायी बताउँछन् ।

यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा वृद्धिसँगै बिहीबार स्थानीय बजारमा चाँदीको मूल्य हालसम्मकै उच्च प्रतिदस ग्राम आठ सय २७.५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार आठ सय ६ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार एकैदिन २१.५० रुपैयाँ बढेको हो । बुधबार भने स्थानीय बजारमा मूल्य निर्धारण भएन ।

No comments: