Tuesday, February 22, 2011

बैंकहरूले सुन आयात गर्न छाडे

८ सय ३७ किलो सुन थन्कियो

यादव हुमागाई
काठमाडौं, ९ फागुन

वाणिज्य बैंकहरूले ल्याएको सुन व्यवसायीहरूले नकिनेपछि बैंकहरूले सुन आयात गर्न छाडेका छन् । सुनको कोटा कुरेर बस्ने बैंकहरू बिक्री हुने वा नहुने भएपछि आयातमा अनिच्छुक देखिएका हुन् ।

“सुनचाँदी व्यवसायीले अहिले बैंकहरूबाट सुन नै किनेका छैनन्,” माछापुच्छ«े बैंकका प्रशासन प्रमुख विनोद सिंह भण्डारीले भने, “यो अवस्थामा सुन आयात गरेर के गर्ने ?” यसअघि माछापुच्छ«ेले सुनको कारोबार गर्दै आएको र व्यवसायीले बैंकबाट सुन किन्ने भएमा फेरि आयात गर्ने उनले बताए ।

बैंकहरूले आयात गर्न छाडेपछि सोमबारसम्म पाँच सय ३७ किलो सुनको कोटा बाँकी छ । जसमध्ये वाग्मती अञ्चलका लागि छुट्याइएको ५ सय १३ किलो र अन्य १३ अञ्चलका छुट्याइएको ३ सय २४ किलो सुनको कोटा बाँकी रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले गत पुस १२ गते संघको सिफारिसमा वाणिज्य बैंकहरूले सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो । १६ वटा वाणिज्य बैंकले सुन आयातमा इच्छा देखाए पनि हालसम्म पाँच वटा बैंकले मात्र सुन आयात गरेका छन् ।

“सुन बिक्री कम भएपछि बैंकहरूले थप आयातमा इच्छा देखाएका छैनन्” नेपाल बैंकर्स संघका कार्यालय सचिव केशव अधिकारीले भने, “इच्छा देखाउनेलाई सिफारिस गरेका छौं ।”

हालसम्म एनआईसी बैंकले सबैभन्दा धेरै एक सय ५० किलो सुन आयात गरेको छ । गत पुसमा वाग्मती अञ्चलका लागि ५० किलो सुन आयात गरेको बैंकले हालै वाग्मतीका लागि ५० र अन्य १३ जिल्लाका लागि ५० किलो सुन आयात गरेको छ । “एनआईसीसँग सुन कारोबारको अनुभव भएकाले बेच्न सक्छु भनेर आयात गरेको होला,” संघका सचिव अधिकारी भन्छन् ।

त्यस्तै बैंक अफ काठमाडौंले पनि माघमा ल्याएको ५० किलो सुन बिक्री गरेर हालै ५० किलो फेरि आयात गरेको छ । लक्ष्मी बैंकले वाग्मती बाहेकका १३ अञ्चलका लागि ल्याएको ५० किलोमध्ये २० किलोको हाराहारीमा मात्र बिकेको छ । हालै नविल र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५०÷५० केजी आयातका लागि सिफारिस लिएका छन् ।

हाल भारतबाट दैनिक ३० किलो सुन अवैध रूपमा नेपाल आइरहेको व्यवसायी बताउँछन् । सुन बिक्रीमा राष्ट्र बैंकले लिएको गलत नीतिका कारण बैंकको सुनभन्दा अवैध सुनमा आकर्षित भएको उनीहरूको भनाइ छ ।

“सुन बिक्रीमा केन्द्रीय बैंकले लिएको नीति नसच्याएसम्म बैंकहरूको सुन बिक्दैन,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने । एक व्यवसायीले एक पटकमा पाँच सय ग्राम मात्र पाउने, ५० प्रतिशत बिक्री भएको विल पेश गरेपछि मात्र फेरि खरिद गर्न पाउने र बिक्री विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने प्रक्रिया झन्झटिलो भएको शाक्यको भनाइ छ । उनका अनुसार बजारमा दैनिक ३५ किलो सुनको माग रहेको र त्यसमध्ये ५ किलोमात्र बैंकहरूबाट बिक्री भएको बताए ।

बैंकहरूको सुन बिक्री नभई अवैध आयात बढेपछि राष्ट्र बैंक, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंकर र व्यवसायीबीच माघको अन्तिम साता समस्या समाधानका लागि छलफल भए पनि सुधार हुन सकेको छैन । सरकारले पूर्णता नपाएकाले यसमा ढिलाइ भएको केन्द्रीय बैंकका एक उच्च अधिकारीले बताए । “हामीले यसबारे मन्त्रालयलाई सुझाव दिएका छौं,” बैंकका एक उच्च अधिकारीले भने, “मन्त्री नहुँदा वाणिज्य मन्त्रालयबाट पास हुन ढिला भएको हुनसक्छ ।”

नेपाल राष्ट्र बैंकले बैंकर्स संघको सिफारिसमा दैनिक १५ किलो आयात गर्न अनुमति दिएको थियो । आयातित सुनमध्ये ६० प्रतिशत वाग्मती अञ्चलमा र ४० प्रतिशत अन्य १३ अञ्चलका व्यवसायीलाई बिक्री गर्नुपर्ने व्यवस्थाअनुसार बैंकहरूले सुन आयात सुरु गरेका थिए ।

No comments: