Saturday, January 01, 2011

हिउँसँग खेल्दै पर्यटनवर्षको स्वागत

यादव हुमागाई
काभ्रे, पुस १७

काभ्रेकै अग्लो स्थान बेथानचोक नारायणस्थानबाट नेपाल पर्यटन वर्ष २०११ को स्वागत गरिएको छ । समुन्द्र सतहदेखि तीन हजार १८ मिटर उचाइमा रहेको उक्त स्थानको प्रचारका लागि पर्यटन वर्षको सुरुवात गरिएको हो ।
महाभारत चुरे क्षेत्रको अग्लो स्थान नारायणस्थानबाट सुर्योदय, हिमाल, तराई र पहाडका साथै महाभारत क्षेत्रको प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ । उक्त स्थानमा पर्यटनको प्रचुर सम्भावना रहेकाले त्यसको प्रचारका लागि कार्यक्रम गरिएको आयोजक संस्था तेस्रो आँखा नेपालका अध्यक्ष मधु आचार्य जानकारी दिए ।
शुक्रबार ढुंखर्कको गेल्डुङबाट नारायणस्थानसम्म करिब पाँच घण्टा पदयात्रा गरिएको थियो । यात्रामा आन्तरिक पर्यटक तथा विभिन्न देशका पर्यटकहरु गरी ४ सयजनाको सहभागिता रहेको थियो । पर्यटन वर्षको स्वागतका लागि पुगेका पर्यटक हिऊ परेपछि हिऊसँग रमाउँदै पर्यटन बर्षको स्वागतमा जुटेका थिए ।
पर्यटन बर्षकै उपलक्ष्यमा तेस्रो आँखा नेपालले काभ्रेको पर्यटन विकासका लागि २७ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा महाभारत क्षेत्रमा पैदल मार्ग र भ्यू टावर निर्माण गर्नुका साथै जिल्लामा होम स्टे, कृषि र शिक्षा पर्यटनलगायतको विकास गर्ने जनाइएको छ ।

No comments: