Tuesday, November 23, 2010

सहकारी संघसंस्थाको दर्ता दोब्बर बढ्यो

‘विभागको क्षमता नबढाउँदा अनुगमनमा समस्या’
यादव हुमागाई
काठमाडौं, ७ मंसिर

सहकारीको बढ्दो आकर्षणसँगै सहकारी संघसंस्थाको दर्ता झन्डै दोब्बरले वृद्धि भएको छ । तर, सहकारीको वृद्धिसँगै नियमनकारी निकाय सहकारी विभागको क्षमता नबढाउँदा दर्ता, तालिम र अनुगमनमा समस्या आएको विभागका अधिकारी बताउँछन् ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्ममा सहकारी संघसंस्थाको संख्या २० हजार ३ सय ६ पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्ममा सहकारी संघसंस्थाको संख्या १२ हजार मात्र रहेको थियो । विभागको तथ्यांकमा गत आवसम्ममा प्रारम्भिक सहकारी संस्था २० हजार १ सय २४ र संघहरूको संख्या २ सय ४ पुगेको उल्लेख छ । त्यस्तै, जिल्ला संघको संख्या ६६, विषयगत जिल्ला संघको संख्या १२७, विषयगत केन्द्रीय संघ ९ र राष्ट्रिय संघ र सहकारी बैंक एक÷एक रहेको छ ।
विभागका अनुसार सबैभन्दा बढी तीन हजारभन्दा धेरै सहकारी डिभिजन सहकारी कार्यालय काठमाडौंमा नै दर्ता भएका छन् । दर्ता भएका सहकारीमध्ये ५० प्रतिशत बचत तथा ऋण सहकारी छन् । त्यस्तै, ग्रामीण क्षेत्रमा भने बचत तथा ऋणका साथै उपभोक्ता, कृषि, दुग्ध, मौरीपालन, कफी, स्वास्थ्यलगायतका विषयगत सहकारीको दर्ता बढेको विभागले जनाएको छ ।
बढ्दो सहकारी संख्यासँगै विभागको क्षमता बढाउनेतर्फ भने सरकारले ध्यान नदिएका कारण सहकारी संस्थाको लगत राख्न र अनुगमनमा समस्या भएको विभागका अधिकारीको भनाइ छ । “आठ सय सहकारी हुँदा रहेको विभागको क्षमतामा थप गरिएको छैन ।” विभागका रजिष्टार सुदर्शनप्रसाद ढकालले भने यसले सहकारीको दर्ता र अनुगमनको काममा प्रभावकारिता आउन सकेको छैन ।” सरकारले २०६१ सालमा विभागको क्षमता घटाइ ६८ जिल्लामा रहेको डिभिजन सहकारी कार्यालयलाई ३८ जिल्लामा सीमित गराएको र ९ सयको हाराहारीमा रहेको कर्मचारीको संख्यासमेत कटौती गरी ५ सयको हाराहारीमा झारेको ढकालले बताए । त्यस्तै सहकारी ऐनलाई समेत लामो समयदेखि परिमार्जन गर्न नसकेकाले विभागको क्षमता नबढेको ढकालको भनाइ छ ।
बढ्दो सहकारीमा आबद्ध व्यक्तिहरूको संख्यामा वृद्धिसँगै सहकारीकर्मीलाई तालिमको अवसरसमेत कमी भएको ढकालले बताए । विभागको अनुगमन प्रभावकारी हुन नसकेकाले केही सहकारीमा विकृति मौलाएको ढकालको भनाइ छ । केही समयदेखि विभागको विशेष टोलीले ठूला सहकारीको अनुगमन गरिरहेको भए पनि जनशक्ति र बजेट अभावमा प्रभावकारी हुन नसकेको उनले बताए ।
विभागका अनुसार हाल नेपाल राष्ट्र बैंकका दुई अधिकृतसहित विभागको टोलीले ठूला कारोबार भएका वित्तीय सहकारीको अनुगमन गरिरहेको छ । विभागको अनुगमनलाई अर्थ मन्त्रालयले समेत चासोका साथ हेरेको छ । विभागको अनुगमन प्रतिवेदनको आधारमा मन्त्रालयले मापदण्ड मिच्ने सहकारीलाई कारबाही गर्न विभागलाई आग्रह गरेको थियो ।
यस्तै सीमित जनशक्ति र स्रोत साधनका बाबजुद पनि दर्ता र अनुगमनलाई प्रभावकारी बनाउँदै लगिएको रजिष्टार ढकालले बताए । “हामीसँग भएको सिमित स्रोत साधनलाई अधिकतम उपयोग गरी अनुगमनलाई कडा गर्दै लगेका छौं,” ढकालले भने । अनुगमनमा त्रुटि देखिएका सहकारीलाई त्रुटि सच्याउन निर्देशन दिइएको र त्रुटि नसच्याएमा कारबाही गर्ने उनले चेतावनी दिए ।
विभागले भदौ १५ गतेबाट काठमाडौं उपत्यकामा सहकारी दर्ता अगाडि तालिम अनिवार्य गरेको छ । त्यस्तै केही समय अगाडि मात्र विभागले सहकारी संस्थालाई कम्पनीमा कारोबार गर्न रोक लगाएको छ ।
बक्समा
२०६६ चैतसम्म दर्ता भएका सहकारी
बचत तथा ऋण -८८८८
बहुउद्देश्यीय -३४६५
दूध -१६८७
कृषि -२९६४
विद्युत् -२२२
तरकारी तथा फलफूल -१८३
उपभोक्त -१२०५
विज्ञान, प्रविधि, यातायात, सञ्चार -८२
कफी -६६
स्वास्थ्य- ५०
चिया -७५
जडिबुटी- ३८
मौरीपालन - ४१
अन्य -७०५
स्रोतः सहकारी विभाग

No comments: