Monday, September 06, 2010

सुनको मनलाग्दी भाउँ, तोलाको ४० हजारसम्म पुग्ने

यादव हुमागाई\विष्णु सापकोटा

काठमाडौं, २० भदौं

सुन चादी आयात र वितरणबारे राष्ट्र बैंकको नीतिको विरोधमा सुनचादी व्यवसायी संस्थाहरुले मुल्य निर्धारण गर्न छाडेपछि स्थानीय बजारमा मनलाग्दी मुल्यमा सुनको विक्रि हुन थालेको छ । अहिले पसलैपिच्छे सुनको फरक–फरक मूल्य कायम रहेको व्यवसायीहरु बताउछन् । विवादका कारण अस्थिर रहेको सुनको मुल्य सरकारले गत शुक्रवारबाट आयातमा प्रतिवन्ध लगाएपछि झन् अनियन्त्रीत भएको छ ।

प्रतिबन्धपछि बजारमा सुनको अभाव हुने आशंकामा भाउँ पनि आकाशिएको छ । सुनको भन्सार अध्यादेशको म्याद समाप्त भएको र संसदमा नयाँ अध्यादेश दर्ता मात्र भएकाले सरकारले सुन आयातमा प्रतिबन्ध लगाएको थियो ।अहिले बजारमा प्रति तोला ३७ हजार ३ सय ५० रुपैयाँको हाराहारीमा विक्रि भइरहेको छ । सुनको मुल्य प्रतितोला ४० हजार सम्म पुग्ने व्यवसायीहरुको अनुमान छ । बजारमा सुनको तोलामा पसलपिच्छे पाँच सय रुपैयाँसम्म फरक रहेको उनीहरु बताउछन् ।



हाल दैनिक ३५ केजी सुन बजारको माग भएपनि राष्ट्र बैंकले १० केजी मात्र आयात गर्न दिएकाले बजारमा अभाव भई मुल्य वृद्वी भएको व्यवसायीहरुको भनाइ छ ।

“अहिलेको अनियन्त्रीत बजार हेर्दा सुनको मुल्य प्रतितोला ४० हजार पुग्न सक्छ ।” नेपाल सुनचादी व्यवसायी संघका महासचिव माणिकरत्न शाक्य भन्छन्– “बजार मागको तुलनामा आपूर्ति कम भएपछि मल्य बढ्ने बजार सिद्वान्त नै हो ।” नेपाल सुन चादी व्यवसायी संघमार्फत मुल्य निर्धारण गरी सबै पसलमा एउटै मूल्यमा विक्री हुदै आएको थियो । भदौ ४ गते नेपाल राष्ट्र बैंकले सुनचादी आयात र वितरणमा नयाँ व्यवस्था गरेपछि तीन व्यवसायी संस्थाको विवादका कारण सुनको एकै भाउ कायम नभएको हो । नेपाल राष्ट्र बैंकको निर्देशीकाका विरोधमा नेपाल सुनचादी व्यवसायी संघले भदौ ४ देखि सुनको मुल्य निर्धारण गरेको छैन । भने बैंकबाट सुन समेत उठाएको छैन । यस अवधिमा संघको कोटामा परेको १ सय २५ किलो सुन बैंकमा स्टक रहेको शाक्यले जानकारी दिए । सुन व्यवसायीका अन्य दुई संघ नेपाल रत्न तथा आभुषण संघ र नेपाल सुनचाँदी कला व्यवसायी संघले भने निर्देशीकाको स्वागत गर्दै बैंकबाट सुन उठाउदै आएका थिए । विवाद मिलाउन नेपाल उद्योग वाणिज्य महासंघको पहलमा ८ भदौंमा तीनवटै संघहरू सम्मिलीत ‘सुनचादी व्यवस्थापन संयन्त्र’ बनेको थियो । संयन्त्रले सुनचाँदीको बजारभाउँ निर्धारण गर्ने बताए पनि संयन्त्रमा भएको विवादका कारण काम गर्न सकेन ।

संयन्त्रका दुईवटा बैठक निश्कर्षविहिन भएपछि गत शुक्रवार महासंघको पहलमा पुनः तिनवटै संघहरुवीच छलफलमा भएको थियो । छलफलमा तीनवटै संघहरुले सुन नउठाउने र बजार मुल्य नतोक्ने सहमति भएपछि आइतबारबाट व्यवसायीहरुले सुन उठाएका छैनन् । सुनको कोटा बढाउन आग्रह गर्दै महासंघको अग्रसरतामा सुन व्यवसायीका तीन संस्थाले संयुक्त रुपमा सोमबार राष्ट्र बैंक समक्ष ज्ञापन पत्र बुझाउने समेत भएका छन् । हाल भइरहेको दैनिक १० केजी आयातले बजारले माँग धान्न नसकेको भन्दै व्यवसायीले कोटा बढाउन माग गर्दै आएका छन् । हिन्दु महिलाहरुको महान चाड तीज र हिन्दुहरुको महान चाड दशैं आइरहेको यो समय गहना विक्रिको समय मानिन्छ । केन्द्रीय बैंकले भदौ ४ मा जारी गरेको निर्देशीकामा सुनचादी वितरणका लागि सिफारीस गर्न एउटा संघको एकाधिकारलाई अत्य गर्दै समान प्रकृतिका अन्य दुई संघलाई पनि सिफारीस गर्ने अधिकार दिएको थियो ।

निर्देशन अनुसार नेपाल सुन चादी व्यवसायी संघले ५० प्रतिशत र नेपाल रत्न तथा आभुषण संघ र नेपाल सुनचाँदी कला व्यवसायी संघलाई २५\२५ प्रतिशत अधिकार दिएको थियो भने । क्षेत्रीय रुपमा पनि वितरण प्रणाली व्यवस्थित गर्न आयातित सुनमध्ये ६० प्रतिशत बाग्मती अंचलभित्र र ४० प्रतिशत अन्य १३ अञ्चलका लागि तोकेको थियो ।

बाह्य मुलुकबाट ठुलो परिणाममा सुन आयात हुन थालेपछि शोधानान्तर घाटा उच्च भएको र विदेशी संचिती रकममा समेत असर परेको भन्दै सरकारले गत चैतमा अध्यादेशमार्फत सुनको भन्सारदर बढाएको थियो । त्यस्तै गत बैशाखबाट राष्ट्र बैंकले सुन आयातमा कडाइ गर्दै प्रतिदिन १० किलो मात्र सुन आयात गर्न सकिने व्यवस्था गरेको थियो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ४१ अर्व ६३ करोड ५७ लाख रुपैयाँको १५ हजार ४ सय ९१ किलो सुन आयात भएको थियो । जसबाट सरकारले करिव २५ करोड राजश्व उठाएको थियो । अघिल्लो आवमा १६ अर्व बराबरको सुन आयात भएको थियो ।

No comments: