Monday, July 26, 2010

सहकारी दर्ता अगाडी तालिम अनिवार्य

यादव हुमागाई
काठमाडौं १० साउन
सहकारी संस्था दर्ता अगाडि सबै संस्थापक शेयर सदस्यहरुले अनिवार्य "आधारभुत सहकारी शिक्षा तालिम" लिनुपर्ने भएको छ । सहकारी विभागले भदौ १ गतेबाट लागू हुने गरी उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर ललितपुरभित्रका महानगरपालिका उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा यो व्यवस्था गर्न लागेको हो ।
सहकारी विभागले राष्ट्रिय सहकारी संघ सबै विषयगत केन्द्रीय संघसँग छलफलपछि यो व्यवस्था लागू भएपछि सहकारी संस्थाका सम्पूर्ण संस्थापक सदस्यले आधारभूत सहकारी शिक्षा तालिम लिएको प्रमाणपत्र पेश गरेपछि मात्र दर्ता स्विकृत हुने सहकारी विभागले जनाएको छ । सहकारी शिक्षाको कमीका कारण सहकारीका संचालक र सदस्यलाई आफ्नो दायित्व र भूमिकाबारे जानकारी कम भएका कारण यस्तो व्यवस्था गर्न लागेको सहकारी विभागको भनाइ छ । केही समय अगाडी सहकारी विभागले गरेको अनुगमनमा धेरै सहकारीका संचालक र सदस्यलाई सहकारी सिद्वान्त ऐननियमबारे जानकारी नभएको पाइएपछि विभागले यस्तो व्यवस्था गरेको डिभिजन सहकारी कार्यालय काठमाडौंका सहकारी अधिकृत कृष्ण प्रसाद शर्माले बताए ।
तालिमको जिम्मा भने राष्ट्रिय सहकारी संघका साथै केन्द्रीय र जिल्ला संघहरुलाई दिएको छ । तालिम न्युनतम शुल्कमा समन्धित विषयका संघहरुले प्रदान गर्ने नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका अध्यक्ष मिनराज कडेलले जानकारी दिए । एक दिनको आधारभुत तालिम दिनका लागि संघहरु भौतिक र प्राविधिक रुपले संक्षम रहेको कडेलको भनाइ छ ।
यस नियमले जथाभावि जोसुकैले पनि सहकारी खोल्ने प्रवृत्ती कमी आउने विभागका अधिकारीहरुको भनाइ छ । अहिलेसम्म संहकारी दर्ताका लागि संस्थापकको कुनै योग्यता तोकिएको थिएन । सहकारी प्रशिक्षण केन्द्रमार्फत तालीमको व्यवस्था गरेपनि अनिवार्य भने थिएन । यसले गर्दा जोसुकैले सहकारी दर्ता गरेर वदमासी गर्दा िसंगो सहकारी क्षेत्रको नै बदनाम भएको सहकारीकर्मीको गुनासो गर्दै आएका थिए ।
सबैभन्दा बढी सहकारी दर्ताको चाप रहेको काठमाडौंका सहकारी अधिकृत शर्मा विभागको नयाँ नियम अन्जानमा सहकारीले नियमविपरित काम नगरुन् भनेर ल्याइएको बताए । "हामी अनुगमनमा जादा धेरै सहकारीले नियम थाहा नपाएकोले गल्ती भएको भनेर पन्छिने गरेका छन् नयाँ नियमले केही हदसम्म भएपनि यो प्रवृत्तीलाई रोक्न सक्छ ।"
नयाँ नियमले अन्य प्राइभेट संस्थाले दिने तालिमलाई भने अस्विकार गरेको छ । "प्राइभेट संस्थाले पनि तालिम दिन पाउने व्यवस्था गर्दा महंगो पर्नुका साथै दुरुपयोग पनि बढ्न सक्छ ।" शर्माले भने -"संघहरुमार्फत तालिम दिदा आधिकारीक हुन्छ भने सस्तो पनि पर्छ ।"

No comments: